राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशैभरी उम्मेदवारको मनोनयन दर्ता हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशैभरी उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यकाे निर्वाचन गर्ने भएकाे हाे। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यहि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। त्यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिनगरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार यहि पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेकाे छ।

साथै यहि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएकाे छ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुने भएकाे छ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने आयाेगले जनाएकाे हाे।