जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको प्रमुख बजार तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाअनुसार बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावरहाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा तोकिएका क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
धनुषामा मस्जिद तोडफोड गरिएको घटनाको विरोधमा वीरगन्जमा तनावको स्थिति सिर्जना भएको छ। आइतबार मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका थिए भने त्यसको प्रतिवादमा हिन्दुवादी संगठनहरूले सोमबार बिहानदेखि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको प्रशासनले जनाएको छ।
धनुषाको धनुषाधाम नगरपालिका– ६, सखुवा मरानमा दुई फरक समुदायबिच भएको विवादपछि एक समूहले मस्जिदमा प्रवेश गरी तोडफोड गर्नुका साथै मुस्लिम धर्मग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सोही घटनापछि प्रदेशका विभिन्न स्थानमा तनाव फैलिएको छ।