मुस्लिम समुदायको प्रदर्शनपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम अर्को आदेश नभएसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको हो।
निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ, जुन वीरगञ्जको अत्यन्त व्यस्त तथा केन्द्रीय क्षेत्र मानिन्छ।
शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोडको घटनापछि मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन सुरु गरेका थिए। सोही क्रममा वीरगञ्जसहित मधेसका विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढ्दै गएको हो।
यसैबीच सोमबार वीरगञ्जको छपकैया क्षेत्रस्थित ईदगाहचोकमा एक मोटरसाइकलमा आगजनी गरिएको छ। स्थानीय स्रोतका अनुसार उक्त घटनामा मुस्लिम समुदायका केही व्यक्तिहरू संलग्न रहेको बताइएको छ। घटनापछि शहरको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
तनावकै बीच आज हिन्दु समुदायले पनि ‘जय श्रीराम’ नारा लगाउँदै वीरगञ्जमा प्रदर्शन गरेपछि अवस्था झनै जटिल बनेको हो। साथै हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति अभद्र तथा आपत्तिजनक टिप्पणी गर्नेहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा विशाल जुलुस तथा प्रदर्शन गरिएको थियो।
उक्त प्रदर्शनमा हिन्दु समाज, विभिन्न धार्मिक सङ्घ–संस्थाका प्रतिनिधि, युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।
स्थिति नियन्त्रणमा लिन जनपथ प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति परिचालन गरिएको छ। घटनास्थलको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोलीसमेत स्थलगत रूपमा खटिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञाका बीच पनि वीरगञ्जका केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि प्रहरीले केही स्थानमा अश्रुग्यास प्रयोग गरेको छ। पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक स्वयं फिल्डमा खटिएर सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नपर्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ।