दुर्घटनापछि साढे ४ किलो गाँजा बरामद, फरार चालक पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

 सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ का ३८ वर्षीय हरदास यादव र उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

अर्कोतर्फ, बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल चालक दुर्घटनालगत्तै फरार भएका थिए। प्रहरीले घटनास्थलमा छाडिएको उक्त मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको ४ किलो ७१० ग्राम गाँजा बरामद गरेको छ।दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक कौडेना गाउँपालिका–१ का रवीन्द्र गिरीलाई प्रहरीले मलंगवा नगरपालिका–१० बाट पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ। लागूऔषध ओसारपसार र सवारी दुर्घटनाका विषयमा पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।