ओलीले लिखित बयान दिएसँगै स्थानहदको विषयमा निर्णयको तयारीमा आयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ ।

ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकारेका छन् ।

आयोगको टोलीले आज भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही दिनमै निर्णय गर्ने जनाएको छ ।ओलीले दिएको लिखित जवाफको विषयमा अध्ययन गरेर स्थान हदका विषयमा निर्णय हुनेछ । यसअघि ओलीले जाँचबुझ आयोगलाई बयान नै नदिने भनी सार्वजनिक भाषण गरेका थिए ।बयान दिन जान परेमा बरु सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका ओलीले पछिल्लो समय आफ्नो निवासमा आए लिखित जवाफ पठाउने बताएका थिए ।

त्यसपछि आयोगले लिखित रूपमा प्रश्न तयार गरेर ओली निवास गुण्डुमा पत्र पठाएको थियो । जवाफ नदिए आयोगले ओलीलाई जरिवाना तिराएर छाड्ने तयारीमा थियो ।

जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई २३ र २४ भदौका घटना (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।

जाँचबुझका क्रममा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिने, प्रमाण बुझ्ने, कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट प्रमाण आवश्यक भए बुझ्ने र कुनै व्यक्तिलाई लिखत वा विवरण पेस गर्न पनि आदेश दिन सक्ने अधिकार ऐनले दिएको छ ।

मागेको विवरण उपलब्ध नगराउने वा अटेर गर्नेलाई आयोगले कारबाही पनि सिफारिस गर्न सक्छ । अवहेलना गरे पाँच सय रुपैयाँ जरिवाना गर्न सक्ने अधिकार पनि आयोगलाई छ ।