निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।
रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए । कागजात, उमेर नपुगेकालगायतका सबै त्रुटि पहिल्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनकाअनुसार २१ देखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्द सूची पेस गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने उनले बताए । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्द सूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जनाए ।
फागुन २१ मा हुने निर्वाचनका लागि दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची आयोगमा पेस गरेका थिए ।