सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मार्च टोलीलाई झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा ईलाकाबाट आइतबार बिहान कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी मदन कोईराला र सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरी सो कार्यक्रम शुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिती सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्ने टोली एक जिल्लाबाट अर्को जिल्लामा रहेको सशस्त्र प्रहरी कर्मचारीलाई सो झण्डा हस्तान्तरण गर्नेछ । सशस्त्र प्रहरी बल नेपालले २५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने तथा देशभर राष्ट्रव्यापी सन्देश फैलाउने उद्देश्यकासाथ पूर्व–पश्चिम झण्डा मार्च गर्न लागिएको हो । झण्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वास समेत गरिएको छ ।