पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ ।
पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो ।
विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको ऐतिहासिक घटनाको स्मरणस्वरूप प्रत्येक वर्ष यो उत्सव मनाइँदै आएको छ ।
विजय उत्सवका अवसरमा पर्सागढी नगरपालिकाभित्र रहेका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू झाँकीसहित कार्यक्रममा सहभागी हुनेछन् ।
उत्सवका क्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने ऐतिहासिक र्याली पनि निकालिने छ ।