उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशको अवस्था परिवर्तनका लागि वैकल्पिक शक्तिहरूबिच एकता हुनुपर्नेमा जोड दिएका छन् ।
आइतबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले पुराना दल र पुरानै प्रवृत्ति सत्तामा दोहोरिए देशमा भएको बलिदान र आन्दोलनको कुनै अर्थ नरहने बताए ।
जेनजी आन्दोलन पछिको परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावमार्फत सही नेतृत्व चयन गर्न सबै नयाँ तथा वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता उनले औँल्याए । घिसिङले अबको परिवर्तन ब्यालेटबाटै गर्नुपर्ने बताए ।‘चुनाव पछिको सरकार कस्तो बन्छ भन्ने विषय महत्त्वपूर्ण छ । यदि हिजोकै सरकार र हिजोकै अवस्था दोहोरियो भने यत्रो सहिदहरूको बलिदान र संरचनाहरूको विनाशको कुनै अर्थ रहँदैन,’ घिसिङले भने, ‘त्यसका लागि फागुन २१ लाई प्रस्थान विन्दु मानेर परिवर्तनको अभियान सुरु गर्नुपर्छ ।उनले उज्यालो नेपाल पार्टी एकता विरोधी नभएको प्रस्ट पारे । ‘हामी एकता विरोधी होइनौँ । सबैलाई एक बनाएर, सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनी भन्छन्, ‘उज्यालो नेपाल पार्टी सदैव सम्मानजनक उपस्थिति र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छ ।’’घिसिङले पूर्ण पार्टी एकता सम्भव नभए कार्यगत एकता वा चुनावी तालमेल गरेर जान सकिने तर्क गरेका छन् । उनले नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरू एक होस् र नयाँ नेतृत्व आओस् भन्ने रहेकोले सोही अनुरूप अगाडि बढ्न अन्य दलहरूलाई समेत आग्रह गरेका छन् ।