युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताउनुभयो ।
तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उहाँले बताउनुभयो । राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक रहेको बताउनुभयो ।
उहाँले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पार्नुभयो । जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले अमेरिका–युक्रेनबिच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी दिनुभयो । युद्धपछिको सुरक्षा प्रत्याभूतिको अवधिबारे अमेरिकी प्रशासनले १५ वर्षको प्रस्ताव गरे पनि जेलेन्स्कीले त्यो अवधि पर्याप्त नहुने धारणा व्यक्त गर्नुभएको छ ।