अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको बताएकी छन् ।
सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन्।
विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् ।मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरू खेप्न आफूहरू तयार रहेको बताइन् । उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभई सबैभन्दा पहिला जनता हुने बताइन् ।राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको उनको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेको बताइन् ।
उनले भनिन्,‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबिचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठुलो महान् भनेको जनता हो । राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरू मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेनजीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुन सक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटि भए, जे गल्ती भए, जेको परिणामबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेनजीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेकाे छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरू खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’
प्रधानमन्त्री कार्कीले आफूहरू जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताइन् ।विगतमा राजनीतिक दलहरूले मस्ती गरेको तर आफूहरूले केही ऐस आराम नगरेको उनको भनाइ छ ।
उनले सबै राजनीतिक दलहरू एकताबद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरिन् ।