विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ।

काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको उहाँको भनाइ छ।

उहाँका अनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोपिय विपद् जोखिमको हिसाबले संवेदनशिल मुलुक भएको, बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्याधिक गर्मी, शितलहर, महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपहरुले नेपालमा हुने कूल विपदकाे ठूलो हिस्सा ओगटेको बताउनुभएकाे छ। जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरु अझ अनिश्चित, तीव्र र बारम्बार देखिन थालेको उहाँले बताउनुभयो।

विपदजन्य घटनाको कारण मुलुकले वर्षेनी जनधनको ठूलो क्षति व्यहोरिरहेको गृहमन्त्री अर्यालले बताउनुभएकाे छ।