कञ्चनपुर कारागारमा लाखौँमा भान्सा बिक्री–वितरण हुने गरेको तथ्य खुलेको छ । सरकारबाट प्रदान गरिने नगदमा घोटालादेखि मदिरा, लागुऔषध बेचबिखन, कन्डमका साथै भान्सासमेत बिक्री हुने गरेको तथ्य बाहिर आएको हो ।गत शुक्रबार कारागारभित्र नाइके प्रकाश मल्ल समूह भर्सेस अन्य कैदीबन्दीबिच झडप भएपछि अधिकांश कैदीबन्दीले अन्य सेवा–सुविधामा अनियमितताका साथै भान्सासमेत बिक्री हुने गरेको रहस्य खोलेका हुन् ।
कारागार पुग्ने सञ्चारकर्मी, प्रशासन, सुरक्षा निकायका अधिकारीसमक्ष कैदीबन्दीले कारागारभित्र भान्सासमेत बिक्री हुने गरेको दुखेसो पोखेका छन् । सजाय काटेर घर जाने कैदीबन्दीले पाएको भान्सासमेत नयाँलाई चार–पाँच लाख रुपैयाँमा बिक्री गर्दै आएका छन् । स्रोत वितरण, उपभोग एवं कमाउ धन्दाकै कारण कारागारमा विद्रोह गरेर झडपसम्मको अवस्था उत्पन्न हुने गरेको छ ।
आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहित प्रशासन एवं सुरक्षा निकायका पदाधिकारीले स्थलगत अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले शुक्रबारको घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहरा सदस्य र सदस्यसचिव प्र्रशासकीय अधिकृत धर्मराज उपाध्याय छन् । छानबिन समितिलाई सात दिनको म्याद दिइएको छ ।
छानबिन समितिको प्रतिवेदनअनुरूप अनुसन्धान अघि बढाइने ढकालले बताए । ‘विवाद नभई केही आउँदैन, मादक पदार्थ भित्र जान्छ भन्ने विषय पनि सुनियो,’ उनले भने, ‘मादक पदार्थ सेवन गर्ने विषयमा शून्य सहनशीलता हुन्छ ।’ सेवासुविधा पारदर्शिताको विषय अघि सारेर नाइके चौकीदार र अन्य कैदीबन्दीबिच झडप हुँदा आठ कैदीबन्दी घाइते भएका थिए । घाइते कैदीबन्दी किरणबहादुर सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरीको महाकाली अस्पतालमा उपचार भइरहेको छ । सन्दीप भण्डारी, जनक खड्का उपचारपछि कारागार फर्किएका छन् ।
प्रकाश मल्ल नेतृत्वको नाइके चौकीदारमाथि अन्य कैदीबन्दीले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, रासनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागुऔषधजस्ता गैरकानुनी कारोबार गरेको, घरबाट आउने सामानसमेत पूरै हातमा नपुग्ने गरेको, आफूनिकटलाई मात्रै सेवासुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गरेका थिए ।