‘पोखरा पर्यटन वर्ष २०२५’ को सन्दर्भ पारेर पर्यटकीय नगरी पोखरामा आठौँ संस्करणको ‘टुर दि पोखरा’ (साईकल टुर) कार्यक्रम आयोजना गरिएको छ। साईकल सिटी पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको मुख्य प्रवर्द्धनमा यो विशेष कार्यक्रम सम्पन्न हुँदैछ।
पोखरालाई पर्यावरणमैत्री, स्वास्थ्यप्रद तथा दिगो पर्यटन गन्तव्यका रूपमा विश्वमाझ चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
यस पटकको ‘टुर दि पोखरा’ मा विश्वप्रसिद्ध नेपाली साईकल यात्री पुष्कर शाहको विशेष सहभागिता रहेको छ। शाहको उपस्थितिले कार्यक्रमलाई थप उल्लासमय बनाएको छ। उहाँको सहभागिताले पोखरामा साईकल संस्कृतिको विकास गर्न र युवा पुस्तामा साहसिक पर्यटनप्रति रुचि जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रमका सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका ९ वटै तालहरूलाई जोड्ने गरी ‘साईकल ट्रयाक’ निर्माण कार्य अघि बढिरहेको जानकारी दिएका छन्।
मेयर आचार्यले सहभागिहरूलाई स्वागत गर्दै भने, “यो कार्यक्रम पोखराको पहिचानलाई विश्वमाझ थप मजबुत बनाउने महत्त्वपूर्ण अवसर हो। हामी पोखरालाई साईकल सिटीका रूपमा विकास गर्न प्रतिबद्ध छौँ।” उनले कार्यक्रममा सहभागी सम्पूर्ण स्वदेशी तथा विदेशी साईकल प्रेमीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
साईकल टुरमार्फत पोखराका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार मात्र नभई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिनेछ। साथै, बढ्दो कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणको सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको छ।
स्थानीय तथा अन्तर्राष्ट्रिय साईकल यात्रीहरूको उत्साहजनक सहभागिताले पोखराको पर्यटन गतिविधिमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।