कास्की जिल्लाको ग्रामिण क्षेत्रका गाउँहरुमा पुगेर एक्लै हिड्ने बृद्ध महिलाहरुलाई लुटपाट गर्ने गिरोहका पांच जनालाई प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ ठुलोकुना र पोखरा महानगरपालिका वडा नं.१९ पुरनचौरमा एक्लै हिडी रहेका दुई जना बृद्ध महिलाहरुलाई लुटपाट गरेको आरोपमा कास्की प्रहरीले पांच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १ भिमकाली पाटन बस्ने वर्ष २१ को सुशील नेपाली, पोखरा २३ घर भै पोखरा १ भिमकाली पाटन बस्ने वर्ष २७ को आशिष नेपाली सुनार, पोखरा २३ बस्ने वर्ष १८ को विजय पराजुली र सोही ठाउँ बस्ने वर्ष २१ की अस्मिता नेपाली र मुस्ताङको थासाङ गाउपालिका वडा नं. २ घर भई हाल पोखरा १ वाघबजार बस्ने वर्ष ५३ को तुल बहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु मध्ये ग ६ प ५१८२ नम्वरको स्कुटर चढेर गएका आशिष सुनार, विजय पराजुली र शुशील नेपालीले गएको पुष १ गते माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ ठुलोकुनामा सोही ठाउँ बस्ने ८२ वर्षीया बृद्धा महिलालाई एक्लै बाटोमा हिडिरहेको अवस्थामा लुटपाट गरेको प्रहरीको दाबी छ। उनीहरुले ती महिलाको दुवै कानमा लगाएको सुनको रिङ लछार पछार गरी लुटेको प्रहरीले बताएको छ।
उनीहरुले सोही दिनको दिउसो करीब पांच बजेको समयमा पुरनचौरमा एक्लै हिडिरहेकी सोही ठाउँकी ६५ वर्षीया
महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले लुटेको सुनका गहनाहरुमध्ये पोखरा १ भिमकालीपाटनस्थित आशिष नेपाली सुनारको डेराकोठा सिरानी मुनी कागजमा पोको पारी लुकाई छिपाई राखेको सुनको रिङ २ थान, हातमा लगाउने सुनको बाला दुई थान र नगद रु.६० हजार बराबद भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले लुटपाट गरी ल्याएका सुनका गरगहना मध्ये एक जोर रिङ आशिष नेपाली सुनार र निजको श्रीमती अस्मिता नेपालीले पोखरा १ स्थित मुक्तिनाथ सुनचाँदी पसलमा लगि विक्री गरेको प्रहरी समक्ष बताएका छन्। प्राप्त सुचनाका आधारमा प्रहरीले उक्त सुनचाँदी पसलमा छापा मारेर हेर्दा आशिष नेपाली सुनार र अस्मिता नेपालीले बिक्री गरेको एक जोर कानमा लगाउने रिङ खरिद गरी पगाली डल्लो पारी प्लास्टिकमा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
चोरीको सुनको गहना खरीद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले अस्मिता नेपाली र मुक्तिनाथ सुनचाँदी पसलका तुल बहादुर विश्वकर्मालाई समेत पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।