बादल : माओवादी जनयुद्धको कमाण्डरदेखि एमालेको निर्वाचित उपाध्यक्षसम्म

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व माओवादी कमाण्डर बादल तत्कालीन नेकपा विभाजनको समयमा एमालेतिर लागेका थिए । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी त्यसको पक्षमा उभिएका थिए ।

२०७८ सालमा नेकपाभित्र आन्तरिक विवाद बढ्दै जाँदा उनी ओली पक्षमा लागेका थिए । सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गरेपछि माओवादी केन्द्र छाडेर बादल एमालेमा समाहित भएका थिए ।
एमालेको १० औं महाधिवेशनमा ओली पक्षबाटै सर्वसम्मत उपाध्यक्ष बनेका बादल ११ औं महाधिवेशनको निर्वाचनमा १ हजार ५१६ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजयी भएका हुन् ।

संसद विघटनमा ओलीलाई बलियो साथ दिएका कारण उनी ओलीको निकटस्थ र विश्वासपात्र रुपमा मानिन्छन् । सोही कारण उनले पार्टीमा अवसर पनि पाउँदै आएका छन् । ओलीको साथका कारण नै २०७८ मा उनी बागमती प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । माओवादी केन्द्र परित्याग गरी एमाले रोजेका कारण उनले आफ्नो राष्ट्रियसभा सदस्य पद गुमाउनु परेको थियो ।२०७८ जेठ ६ मा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पक्षको समर्थन पाएका डा. खिमलाल देवकोटासँग पराजित भएका थिए ।२०१२ सालमा गुल्मीको बडागाउँमा जन्मिएका बादलले २०३७ सालदेखि राजनीति सुरु गरेका हुन् । चितवनको रामपुरस्थित कृषि क्याम्पसमा अध्ययन गर्ने क्रममा २०१३ सालमा उनको भेट पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको थियो । त्यहाँबाट प्रचण्डसँग सहकार्य सुरु गरेका बादलले गृहमन्त्रीसम्मको यात्रा माओवादीबाट गरे ।

उनका बुबा भारतीय सेनाको अवकाशप्राप्त कर्णेल हुन् । स्नातकपछि उनी इन्जिनियरिङ पढ्न तत्कालीन सोभियत संघ (हाल रुस) गएका थापा पछि अध्ययन पूरा नगरी नेपाल फर्किएका थिए ।
बादलले अमिक शेरचनबाट कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गरेका थिए । सोभियत संघबाट फर्किएपछि उनी भूमिगत राजनीतिमा लागेका थिए । २०५२ देखि २०६३ सालसम्म बादलले भूमिगत राजनीतिक जीवन बिताए । २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारमा लागेका बेला उनलाई पञ्चायती सरकारले पक्राउ गरेको थियो । उनी भरतपुर र वीरगञ्जको कारागारमा क्रमशः ९/१० महिनापछि रिहा भएका थिए ।

त्यसपछि उनी टुक्रिएको दल नेकपा मशालमा आवद्ध भएका थिए । २०४२ सालमा मसालको केन्द्रीय सदस्य बनेका उनले राप्ती अञ्चलको जिम्मेवारी प्राप्त गरेका थिए । २०४४ सालमा उनी बागमती अञ्चलको इन्चार्ज बनेका थिए । त्यसको ८ वर्षपछि तात्कालिक माओवादीले सुरु गरेको जनयुद्धमा उनी संलग्न भए ।

जनयुद्धमा होमिएका उनी आन्तरिक तयारीका लागि रोल्पा गएका थिए । १० वर्ष लामो माओवादी सशस्त्र जनयुद्धमा फौजी योजनाकारको मुख्य भूमिका निर्वाह गरेका बादलले थुप्रै आक्रमणको नेतृत्व गरेका थिए । प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमणमा प्रमुख योजनाकारको रुपमा बादलले भूमिका निर्वाह गरेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा उनी रक्षामन्त्री बनेका थिए । नेकपा माओवादी विभाजन हुँदा उनी मोहन वैद्य पक्षमा लागेका थिए र पछि वैद्य नेतृत्वको पार्टीको महासचिव भए । २०७४ सालको चुनावभन्दा केहीअघि उनी फेरि प्रचण्डको नेतृत्वको माओवादी केन्द्रमा फर्किएका थिए । २०७४ मा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भए । सोही वर्षको फागुनमा उनी गृहमन्त्री बनेका थिए ।