आजबाट प्रथम सडक खाना महोत्सव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि, हाम्रो चाहना” भन्ने नारासहित १९ गतेसम्म चल्ने महोत्सवका सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।

सोह्र जातजातिका स्वाद एकै ठाउँ
महोत्सवको मूल आकर्षण वालिङमा बसोबास गर्ने १६ समुदायका मौलिक परिकार रहेको छ । यहाँ गुरुङ, मगर, थकाली, नेवार, राई, लिम्बू, तामाङ र कुमाललगायत जनजातिका परम्परागत खानादेखि पकाउने विधि र सांस्कृतिक अर्थसम्म प्रस्तुति गरिनेछ ।

पहिलेदेखि छुट्टाछुट्टै देखिँदै आएका परिकारलाई एउटै ठाँउमा प्रस्तुत हुने भएकाले सांस्कृतिक पहिचान झनै बलियो हुने अपेक्षा नगरले गरेको छ ।

कला–संस्कृति र भेषभूषासँगै महोत्सव 
परिकारसँगै १६ समुदायका नृत्य, पोशाक, रीतिरिवाज र जीवनशैली प्रदर्शन महोत्सवमा देखिने अर्को आकर्षण हो । आँधीखोला सभ्यताको पुरानो कथा, स्थानीय संस्कृतिको विविधता र नगरको पहिचान समेटिएको सामूहिक प्रस्तुति महोत्सवको केन्द्रमा रहनेछ ।

स्थानीय खानालाई संरक्षण 
ढिंडो–गुन्द्रुकदेखि आधुनिक परिकारसम्म समेटिएको यस महोत्सवले पुराना स्वादको संरक्षण र पुनर्जीवनसँगै बजार विस्तारमा जोड दिने नगरको भनाइ रहेको छ ।

“मौलिक खानालाई आधुनिक बजारसम्म” पुर्‍याउने अभियानलाई यसैबाट गति दिने तयारी समेत नगरपालिकाले गरेको छ ।
किसानका उत्पादन र प्रदर्शन

महोत्सवमा स्थानीय किसानका तरकारी, फलफूल, मौसमी बाली, बीउ–बिजन र आधुनिक कृषि प्रविधिको पनि प्रदर्शन हुनेछ ।
यसले स्थानीय बजार चलायमान बनाउने र आत्मनिर्भर उत्पादनलाई टेवा पु¥याउने विश्वास नगरको छ । राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसहित युवामुखी र परिवारसँगै रमाउन मिल्ने कार्यक्रमहरू महोत्सवको समयभर चल्ने छन् ।

आँधीखोला किनारमै तीन दिन रौनक
मङ्सिर १७ देखि १९ गतेसम्म पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिने आँधीखोला करिडोर क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

तटीय क्षेत्रलाई भविष्यमा सांस्कृतिक र पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने दीर्घ योजना समेत नगरले सार्वजनिक गरेको छ । महोत्सवका लागि छ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । २५ स्टलमध्ये कृषि स्टल निःशुल्क रहनेछन् भने अन्य स्टलले दैनिक एक हजार रुपियाँ शुल्क बुझाउनुपर्नेछ ।

स्थानीय खानाको संरक्षण, सांस्कृतिक विविधताको प्रवर्द्धन  र नगर ब्रान्डिङलाई लक्षित गरी सुरु हुन लागेको वालिङ सडक खाना महोत्सवले व्यापक आकर्षण पाइने अपेक्षा नगरपालिकाले गरेको छ ।