एनपीएलमा आज दुई खेल : चितवन र काठमाडौं, विराटनगर र कर्णाली भिड्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्।चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्।

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्। चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ। विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।

कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । चारमा एक खेल गुमाएको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ।

समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।