उपत्यकामा भिड तथा दंगा नियन्त्रणलाई लक्षित गरी सशस्त्र प्रहरी बलले विशिष्टीकृत गण स्थापना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव स्वीकृत गरेको हो ।
हाल कीर्तिपुरमा एसपीको नेतृत्वमा रहेको नीलबाराही गणलाई स्तरोन्नति गरी एसएसपीको नेतृत्वमा दंगा नियन्त्रण गण बन्नेछ । सो गणमा प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी विशेष तालिम दिने र सोही जिम्मेवारी खटाउने सशस्त्र प्रहरीले जनाएको छ । यसअघि सो गणले गर्दै आएको कामको जिम्मेवारी भने बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरी दिन लागिएको छ ।
हालैको जेन–जी आन्दोलनपछि सशस्त्र प्रहरीले भिड नियन्त्रणलाई लक्षित गरी संगठनको सुदृढीकरण गरेको हो । उसले सशस्त्र प्रहरी प्रधान कार्यालय, बाहिनीलगायत कार्यालयमा कार्यरत सशस्त्र प्रहरीको दरबन्दी कटौती गरी गण र गुल्ममा बढाउने निर्णय पनि गरेको छ । सशस्त्र प्रहरीले भिड नियन्त्रणसम्बन्धी नयाँ नीतिगत प्रस्ताव पनि अघि बढाएको छ ।