पोखरा, कार्तिक १९ — पोखरा महानगरपालिका–२२ अन्तर्गत कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले स्थानीय बासिन्दाको स्वास्थ्य सुदृढीकरण र मानसिक सन्तुलनका लागि करिब दुई महिनादेखि नियमित नि:शुल्क योग केन्द्र सञ्चालन गर्दै आएको छ। हरेक बिहान ५:३० बजे दहरा सृजनशील क्लब भवनमा सञ्चालन हुने योग कक्षामा टोलबासीहरू उत्साहपूर्वक सहभागी हुने गरेका छन्।
प्रशिक्षकका रूपमा स्थानीय तालिमप्राप्त मिना कुमारी देवकोटाले निरन्तर सेवा दिँदै आउनु भएको छ भने बेला–बेलामा अन्य योग गुरुहरूले पनि प्रशिक्षण प्रदान गर्ने गरेको संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष दिनेश बरालले योगलाई शारीरिक मात्र नभई मानसिक र आध्यात्मिक सन्तुलनको माध्यमका रूपमा लिनुपर्ने बताए।
“योग केवल व्यायाम होइन, यो जीवनशैली हो,” उहाँले भन्नुभयो, “नियमित योग अभ्यासबाट शरीर र मन सन्तुलित रहन्छ। यसले तनाव घटाउने, एकाग्रता बढाउने र सकारात्मक सोच विकास गर्ने काम गर्छ।” योग केन्द्रमा सहभागीहरूका अनुसार, नियमित योग अभ्यासपछि शरीर हल्का र ऊर्जावान् महसुस भएको छ।
उनीहरूले अनुभव साझा गर्दै भने, “घरमा घाँस, दाउरा र खेतीपाती गर्दा मात्रै व्यायाम हुँदैन रहेछ। योग गर्न थालेपछि शरीर नै हल्का भएको र दिनभर नयाँ ऊर्जा अनुभव हुन्छ।” अध्यक्ष बरालका अनुसार, सुरुमा तीन दिनका लागि राखिएको नि:शुल्क योग शिविर स्थानीयको माग र प्रशिक्षकको सहयोगमा विस्तार हुँदै अहिले नियमित केन्द्रका रूपमा सञ्चालनमा आएको हो।
उहाँले थप्नुभयो, “यो केन्द्र सबै वडाबासीका लागि खुला छ। वडा–२२ भित्रका जो–कोही इच्छुक व्यक्ति नि:शुल्क रूपमा सहभागी हुन सक्छन्।” संस्थाले योगमार्फत स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैली विकास गर्न सबैलाई सहभागिताका लागि आह्वान गरेको छ।