तेस्रो कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिता २१ र २२ कात्तिकमा काठमाडौंको चुनीखेलमा हुने भएको छ । सिई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्टस्को सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ ।
आयोजकले मंगलबार समूह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरेको छ । प्रतियोगिता निर्देशक अमित पौडेलले नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको बताए । टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटोबारे जानकारी गराए ।
प्रतियोगितामा प्रत्येक टोलीमा १० जना खेलाडी रहनेछन् । १० ओभरको मात्र खेल हुने लिगमा सहभागी टोलीले पहिलो प्लेइङमा आठ खेलाडी राख्नुपर्ने गुप्ताले बताए । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान पाँच हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले पाँच सय ५० रुपैयाँ प्राप्त गर्नेछन् ।