छोरेपाटन–शान्ति स्तूप–पुम्दीकोट मार्गमा फोहोर गर्न निषेध, सवारीसाधनले फोहोर फाले कडा कारबाही हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, कार्तिक १८ । छोरेपाटन पर्यटक क्षेत्र हुँदै शान्ति स्तूपा र पुम्दीकोट जाने मोटरबाटो तथा अन्य भित्री सडकहरूमा बढ्दो फोहोरका कारण स्थानीय समुदायहरू सरसफाइ अभियानमा सक्रिय हुने भएका छन् ।

यही विषयमा आज कालिमाटी शान्ति स्तूप टोल विकास संस्था, कोदि शान्ति टोल विकास संस्था, टारी–घैयाखेत टोल विकास संस्था, पुम्दीकोट टोल विकास संस्था, विभिन्न आमा समूह र क्लबहरूको संयुक्त आयोजनामा सर सफाइ सम्बन्धि बृहत् छलफल तथा भेला सम्पन्न गरिएको छ। भेलामा फोहोर व्यवस्थापन र सरसफाइका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले वडाले सरसफाइ कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, पहिलो चरणमा बृहत् सरसफाइ अभियान सञ्चालन गरी त्यसलाई नियमित रूपमा सर सफाइ निरन्तरता दिन सुझाव दिनु भयो । साथै, फोहोर नफाल्ने जनचेतना अभियान सञ्चालन गर्ने र आवश्यक स्थानहरूमा सचेतनामूलक बोर्डहरू राख्ने कार्यमा वडाले सहयोग गर्ने पनि बताउनुभयो। कार्यक्रममा पुम्दी–भुम्दी सहकारीका अध्यक्ष खेमराज बराल, वडा युवा परिषद्–२२ तथा कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाका अध्यक्ष दिनेश बराल, सृजनाशील क्लबका अध्यक्ष बोधराज बराल लगायत स्थानीय प्रतिनिधिहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए। छलफलपछि छोरेपाटनदेखि पुम्दीकोटसम्मको सरसफाइ व्यवस्थापनका लागि समिति गठन गरिएको छ।

आशिष बरालको संयोजकत्वमा र विभिन्न सघ सस्थाका प्रतिनिधि सहित बनेको उक्त समितिले आगामी दिनमा स्थानीय समुदाय तथा सरोकारवालासँग समन्वय गर्दै निरन्तर सरसफाइ तथा फोहोर व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, सवारीसाधनबाट फोहोर फाल्ने व्यक्तिमाथि कडा जरिवाना तथा कारबाही गर्ने व्यवस्था लागू गर्ने निर्णय गरिएको परिषद अध्यक्ष तथा कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाका अध्यक्ष दिनेश बरालले शुभ नेपाललाई जानकारी दिनुभयो।