दोलखामा हिमपहिरो : एक विदेशीसहित तीनको मृत्यु, चार बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दोलखाको गौरीशंकर गाउँपालिका– ९ स्थित रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा तीनजनाको मृत्यु भएको छ । उक्त हिमाल आरोहणका लागि गएका एक विदेशी नागरिकसहित तीनजनाको मृत्यु भएको हो ।

सोमबार बिहानको हिमपहिरोमा अन्य चार बेपत्ता र चार घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । ‘हिमपहिरोमा घाइते भएकाहरूले बताएअनुसार तीनजनाको घटनास्थलमै मृत्यु भएको, चार बेपत्ता र चार घाइते भएका छन्,’ उनले भने ।

आरोहण दलमा पाँच विदेशी तथा १० नेपाली (गाइड र भरिया) सहभागी थिए । उनीहरू सोमबारै नाँ गाउँबाट प्रस्थान गरेका थिए । घाइते भएकाहरूबाटै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको उद्धार टोली तथा स्थानीय बासिन्दासमेत परिचालन गरिएको छ । यलुङ री हिमाल पाँच हजार ६३० मिटर अग्लो छ ।

सम्पर्कविहीन आरोहीको खोजीका लागि हेलिकोप्टर पठाइए पनि खराब मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको प्रहरीले जनाएको छ । उद्धारका लागि दिउँसो एभरेस्ट एयरको हेलिकोप्टर पठाइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर सिमगाउँमा अवतरण भएको छ । मौसमको अवस्था हेरेर मंगलबार उद्धारमा हेलिकोप्टर पठाइने डिएसपी महतोले बताए । हिमपहिरोमा परी हराइरहेकाको उद्धारका लागि गौरीशंकर संरक्षण क्षेत्रसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको उनले बताए ।