जेनजी विद्रोहका क्रममा भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेसहित कैदीबन्दी बाहिर निस्किएको विषयमा न्यायीक जाँचबुझ आयोगले जेलर सत्यराज जोशीसँग बयान लिएको छ।
सिंहदरबास्थित जाँचबुझ आयोगको कार्यालयमा बोलाएर जोशीसँग बयान लिइएको हो। नख्खु कारागारबाट कसरी कैदीबन्दी भागे वा भगाइए भन्नेबारे जाँचबुझ आयोगले तत्कालीन कारागार प्रमुखसँग बयान लिएको स्रोतले जनायो।
कारागारका अन्य अधिकारी र सुरक्षा प्रमुखहरुसँग पनि आयोगले बयान लिने क्रम जारी राखेको छ।
आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएका थिए। त्यसपछि देशैभरिका २६ कारागार तोडफोड गरी कैदी भागेको चर्चा छ।