वडा नं. २७ मा विपद् जोखिम न्यूनीकरण केन्द्र र जलन अस्पताल निर्माण हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, पोखरा महानगरपालिका–२७ मा आपतकालीन सेवा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका उद्देश्यका साथ दुई ठूला परियोजनाहरू अघि बढाइएका छन्। करिब ४ रोपनी क्षेत्रफलमा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने सोही परिसरसँगै करिब ५ रोपनी जग्गामा एशियाली विकास बैंक (ADB) को सहयोगमा विपद् जोखिम न्यूनीकरण केन्द्र (Disaster Risk Reduction Center) निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ।

विपद् जोखिम न्यूनीकरण केन्द्रमा दमकल, एम्बुलेन्स, उद्धारका उपकरण, तालिमका सामग्री तथा उद्धार टोलीको ब्यारेक रहनेछ। यसले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

महानगरका मेयर धनराज आचार्य अनुसार, “पोखरामा आपतकालीन अवस्था वा प्राकृतिक विपद् आइपरेमा छिटो प्रतिक्रिया दिन सक्ने संरचना निर्माण हाम्रो प्राथमिकता हो। DRR केन्द्र त्यस दिशातर्फको ठुलो कदम हो,” उनले बताए।

यससँगै, हालको स्वास्थ्य महाशाखा रहेको स्थलमा करिब २ अर्ब रुपैयाँको लागतमा कोरियाली सरकार (KOICA) को सहयोगमा जलन अस्पताल (Burn Hospital) निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। उक्त अस्पतालमा जलन पीडितका लागि विशेष उपचार सुविधा, आधुनिक उपकरण तथा तालिमप्राप्त चिकित्सकहरूको व्यवस्था हुने बताए।

“जलन उपचारका लागि पोखरासहित गण्डकी प्रदेशभरका बिरामीहरूलाई काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्न यो अस्पतालले महत्वपूर्ण भूमिका खेल्नेछ,” मेयर  आचार्य भने।

यी परियोजनाहरू सम्पन्न भएपछि वडा नं. २७ मात्र होइन, सम्पूर्ण पोखरा महानगरको आपतकालीन सेवा र स्वास्थ्य संरचना सुदृढ हुने विश्वास लिइएको छ।