झापाको शिवसताक्षी नगरपालिका– १० का ३३ वर्षीय सरोज शर्माको हत्यामा छिमेकी युवाको संलग्नता रहेको पाइएको छ । उनको हत्या चिनजानकै छिमेकीले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार हत्यामा संलग्नलाई सार्वजनिक गर्दै एक महिनादेखि हत्याको योजना बनाएको जनाएको छ ।
शर्माको हत्यामा शिवसताक्षी– १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई प्रहरीले पक्राउ गरेको छ । शव व्यवस्थापनमा सहयोग गर्ने एक भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनील र राहुल नातामा मामाभान्जा पर्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार मृतक शर्मा काठमाडौंमा आइटी इन्जिनियरका रूपमा काम गर्दै आएका थिए । उनी दसैँ, तिहार र छठ मनाउन झापा आएका हुन् । त्यही समयमा सस्तोमा सुन पाए किन्ने र खोजिदिन शर्माले सुनीललाई आग्रह गरेको डिएसपी खड्काले जानकारी दिए । ‘आन्दोलनका क्रममा लुटपाट भएको सुन सस्तोमा पाएमा आफू पनि किन्ने र काठमाडौंमा अरूलाई पनि किनाउने मृतकले भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘त्यही आधारमा मृतकसँग पैसा भएको र उनको अपहरणपछि हत्या गरी परिवारसँग फिरौती माग्ने योजना सुनीलले बनाएको देखिन्छ ।’
शर्मा बेपत्ता भएको दिन ९ कात्तिकमा राहुलले सुन भेटिएको भन्दै किन्न बोलाउँछन् । उनले शर्मालाई सुन जंगलमा गाडेको भन्दै अर्जुनधारा– ४ स्थित दही झोडा सामुदायिक वन पुर्याउँछन् । त्यहाँ पुग्नेबित्तिकै राहुल र सुनीलले शर्माको टाउकोमा हथौडाले प्रहार गरेर हत्या गरेको डिएसपी खड्काले जानकारी दिए । ‘करिब ५:३० बजे हत्या गर्छन् । त्यसपछि शवलाई जंगलमै छाडेर उनीहरू घर आएर नुहाइधुवाइ गर्छन् । शव व्यवस्थापन गर्न उनीहरू फेरि जंगल नै जान्छन्,’ उनले भने, ‘शव व्यवस्थापनका लागि भने कुञ्जीबारीमा रहेका भारतीय नागरिक (जो अहिले फरार छन्)लाई बोलाएको देखिन्छ । उनीहरूले शवलाई मृतककै गाडीमा हालेर हुलाकी राजमार्गस्थित बिरिङ खोला पुलमुनि गाडेको देखिन्छ ।’
हत्या गरेको भोलिपल्ट मुख्य योजनाकार सुनील मृतक शर्माको घर पुगेर बेपत्ताको खोजी गर्नुपर्ने भन्दै परिवारलाई आग्रह गरेको प्रहरीले जनाएको छ । यसबिचमा उनलाई प्रहरीले सोधपुछ पनि गरेको डिएसपी खड्काले बताए । तर, प्रमाण नभएका कारण उनलाई निगरानीमा छाडिएको थियो ।
शर्माकै गाडीबाट शव व्यवस्थापन गरेका उनीहरूले केही दिनसम्म गाडीलाई विभिन्न जंगलमा राख्छन् । तर, १३ कात्तिकमा भने गाडी मेचीनगर नगरपालिका– १३ निचाझोडा सामुदायिक वनमा जलाएको प्रहरीले जनाएको छ । गाडी चलाएको ठाउँमा योजनाकार सुनीलको चप्पल भेटिएपछि प्रहरीले उनको खोजतलास सुरु गर्छ । डिएसपी खड्काका अनुसार अभियुक्तले मृतकको शव वा गाडी भारत लगेर परिवारलाई फोन गरी रकम असुल्ने योजना बनाएका थिए । ‘भारतमा शव लगेर लागुऔषध राखेर छुटाउने भन्दै परिवारबाट पैसा असुल्ने योजना देखिन्छ । तर, टाउकोमा चोट धेरै भएकाले त्यो सम्भव भएन,’ उनले भने ।