प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबार बोलाएर यस्तो निर्देशन दिएकी हुन्।
‘जेन-जीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’ प्रधानमन्त्रीले भनिन्।
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै प्रधानमन्त्रीले निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि निर्देश गरिन्। निगम सुधारका लागि अहिलेसम्म बनेका सबै प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्कीले निगमको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्, ‘हेर्दाखेरि सबैथोक छ, तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’
प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन्। ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाईँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीले भनिन्।
निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्। निजी क्षेत्रका सेवा प्रदायकले ठुलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर उनले प्रश्न गरिन्।