शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री सुशीला कार्कीले भनिन्– लुटिएकामध्ये फिर्ता हुन बाँकी हतियार अब ५–६ सयजति होलान्, फिर्ता नभएका हतियार पनि कहाँ–कहाँ छन् भनेर प्रहरी प्रशासनले ‘लोकेट’ गरिसकेको छ । लोकेट गरिसकिएकाले ती हतियार पनि फिर्ता हुनेछन् भन्नेमा विश्वस्त छौँ । सरकारले राष्ट्रपतिबाट पाएको कार्यादेशअनुसार केही मन्त्री निर्वाचन सम्पन्न गराउन र जेन–जी आन्दोलनको मागअनुसार सरकारका केही मन्त्री सुशासन कायम गराउन लागिपरेका छौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मिति २१ फागुनमै निर्वाचन हुनेमा अविश्वास नगर्न आग्रह गरेकी छिन् । गृहमन्त्री ओमप्रकाश अर्याललगायत मन्त्रीहरूलाई समेत राखेर शुक्रबार बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गरेकी कार्कीले निर्वाचनमा सुरक्षाको चिन्ता पनि लिनुनपर्ने बताएकी छिन् ।
जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी भयरहित निर्वाचनका लागि चुनौती बन्न सक्ने सम्पादकहरूको जिज्ञासामा कार्कीले आधाजति फिर्ता भइसकेको र बाँकी पनि कहाँ छन् भनेर थाहा भइसकेको दाबी गरिन् । ‘लुटिएकामध्ये फिर्ता हुन बाँकी हतियार अब ५–६ सयजति होलान्, फिर्ता नभएका हतियार पनि कहाँ–कहाँ छन् भनेर प्रहरी प्रशासनले ‘लोकेट’ गरिसकेको छ,’ उनले भनिन्, ‘लोकेट गरिसकिएकाले ती हतियार पनि फिर्ता हुनेछन् भन्नेमा विश्वस्त छौँ ।’
सरकारले राष्ट्रपतिबाट पाएको कार्यादेशअनुसार केही मन्त्री निर्वाचन सम्पन्न गराउन र जेन–जी आन्दोलनको मागअनुसार सरकारका केही मन्त्री सुशासन कायम गराउन लागिपरेको उनको भनाइ थियो । निर्वाचन आयोगमा रिक्त आयुक्तहरू थप्ने तयारी भइरहेको पनि जानकारी गराइन् । यसमा कानुनी र प्रक्रियागत विषयले केही जटिलता भएको उनको भनाइ छ ।
‘प्रमुख निर्वाचन आयुक्तबारे सोचेका छौँ, अहिलेको व्यवस्थाअनुसार केही समय लाग्न सक्छ, त्यसैले छिट्टै निर्णयमा पुगिहाल्छौँ,’ उनले भनिन्, ‘आयोगमा निर्वाचनबारे ज्ञान भएका न्यायाधीशहरू र कर्मचारीहरूलाई पनि राख्न सकिन्छ ।’ पाँच सदस्यीय निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एक आयुक्तको पद रिक्त छ ।
प्रधानमन्त्री कार्कीले चुनाव गराउन चाहिने १२० सामग्रीमध्ये ९० वटा अहिले नै रहेको तथा बाँकी सामग्री पनि नेपालमै जोहो गर्ने भनेर निर्वाचन आयोगले ब्रिफिङ गरेकाले कुनै नयाँ खरिद प्रक्रिया अघि नबढेको पनि बताइन् ।
दलहरूलाई निषेध गर्ने नियत नभएको स्पष्टोक्ति
प्रधानमन्त्री कार्कीले दलहरूलाई निषेध गर्ने वा उनीहरूलाई विहीन अवस्था बनाउने नियत नरहेको पनि स्पष्ट पारिन् । ‘दलहरूलाई निषेध गर्ने कुनै नियत छैन । सुरुकै दिनदेखि दलहरूसँग सरकारले विभिन्न माध्यममा कुरा गरेको हो । सुरुमा दलसँग कुरा गर्दा जेन–जीको आक्रोश सामना गर्नुपथ्र्यो । हाम्रा हत्यारालाई ल्याउने भन्ने नारा पनि मैले खेपेको छु,’ उनले भनिन्, ‘यही कारण राष्ट्रपतिलाई अघि सारेर दलहरूसँग छलफल गरियो, अनि आफैं पनि दलसहित सर्वपक्षीय छलफल बोलाएर गरेको छु ।’
जेन जीमा आकाशजमिनको फरक आएको दाबी
प्रधानमन्त्री कार्कीले आन्दोलन गर्दाका दिनका र आजका जेन–जीको बुझाइमा आकाश–जमिन फरक भएकोसमेत बताएकी छिन् । सुरुमा विभिन्न माग लिएर आउने जेन–जी युवा अहिले हालकै संविधान र व्यवस्थामा रहेर चुनावमा जानुपर्ने विन्दुमा आइपुगेको उनको भनाइ छ ।
‘डे वानका जेन–जी र आजका जेन–जीमा आकाश–जमिनको फरक छ । हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन् । बुझाइ कति राम्रो भएको छ,’ उनले भनिन्, ‘अहिले जेन–जी खारिँदै गएका छन् ।’ बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेन–जीबिचको वार्ताले पनि निर्वाचनका लागि सकारात्मक वातावरण बनाएको उनले सुनाइन् ।
गृहमन्त्री अर्यालले थपे– निर्वाचन सम्पन्न हुने–नहुनेमा कुनै आशंका छैन
गृहमन्त्री आर्यालले निर्वाचनका विषयमा रहेका अन्योल हटेको दाबी गरे । आफ्नो मधेश प्रदेशको भ्रमणको सन्दर्भ उप्काउँदै उनले त्यहाँ सबै पक्षसँग गरिएको कुराकानीबाट निर्वाचन हुने विश्वास अझ बलियो भएको बताए ।
‘निर्वाचनमा जाने विषयमा जे प्रतिकूलता थिए, अब ती हटेका छन् । प्रहरीसहितका सुरक्षा निकायले पनि समयमै निर्वाचन गराउन सक्छौँ भन्नुभएको छ,’ उनले भने, ‘यसबिचमा प्रहरीको मनोबल पनि बढेको छ । किनकि, हामीले उहाँहरूलाई सम्मान दिएका छौँ । विभिन्न पक्षको कुरा सुनेर, उनीहरूको आँसु पुछेर हामीले राजनीतिक परिस्थितिलाई सामान्य बनाउँदै लगेका छौँ । यसले गर्दा सम्भावित राजनीतिक हिंसाको सम्भावनाको पनि अन्त्य भएको छ । यो स्थितिले गर्दा निर्वाचन सम्पन्न हुने–नहुने कुरामा कुनै आशंका छैन ।’