विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालले आज खेल्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले उत्कृष्ट फर्ममा रहेको अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । युएईको दुबईमा चलिरहेको लिग–२ मा नेपालले अहिलेसम्म दुई खेल खेल्दा हारको सामना गरेको छ । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा ब्याटिङ कमजोरीका कारण नेपालले खराब हार व्यहोरेको थियो । पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हार्‍यो । लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता बिस्तारै धराप परिरहेको छ । अहिले १२ अंकका साथ नेपाल सहभागी आठमध्ये सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलबाट सर्वाधिक ३२ अंक बटुलेको छ । स्कटल्यान्डले २४ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थान बलियो बनाएको छ । नेदरल्यान्ड्स २८ अंकका साथ तेस्रो स्थानमा छ ।

ब्याटिङ सुधार्न आवश्यक 
अहिले नेपालको प्रमुख समस्या भनेको नै एकरूपताका साथ ब्याटिङ गर्न नसक्नु हो । दुईवटै खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो । युएईको ब्याटिङ पिचमा नेपाली ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकिरहेका छैनन् । दोस्रो खेलमा कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी शतकीय इनिङ्सबाहेक अन्य खेलाडीले अर्धशतकीय योगदान दिन सकेनन् । नेपालको एकदिवसीय इतिहासमा रोहित दोस्रो शतक लगाउने पहिलो बनेका थिए । अमेरिका र युएईविरुद्धको अघिल्लो खेलमा गतिलो साझेदारी नहुँदा विपक्षी बलर हाबी हुन मौका पाए । अमेरिकाले भने लगातार ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले यी तीनवटै क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । अमेरिकाविरुद्धको अर्को महत्वपूर्ण खेलमा नेपालका खेलाडीले विशेषत: ब्याटिङ र बलिङमा ध्यान दिनु जरुरी छ ।

ओपनिङ र मध्य कमजोर
दुई साताअघि नेपाल ओमानमा आइसिसी टी–२० विश्वकपको छनोटको च्याम्पियन बनेको थियो । पछिल्लो आठ महिना नेपाली खेलाडीले लगातार टी–२० फम्र्याटमा प्रतिस्पर्धा गरिरहेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट हुने उद्देश्यका साथ खेलाडीलाई टी–२० फम्र्याटमा बढी एक्सपोजर गराइएको थियो । यो अवधिमा नेपालले एकपटक मात्र स्कटल्यान्डमा विश्वकप लिग–२ खेलेको थियो । यसबाहेक अन्य समयमा नेपाली खेलाडी अन्तर्राष्ट्रिय टी–२० खेलमै बढी व्यस्त भए । यसै कारण उनीहरू अहिले एकदिवसीय खेलमा पनि स्ट्रोक लगाउने कोसिसमा आउट हुने गरेका छन् ।

ओपनिङ जोडीले सुरुवाती विस्फोटक ब्याटिङ गर्ने चक्करमा आफ्नो विकेट सहजै गुमाइरहेका छन् । ओपनिङ जोडीले गतिलो योगदान दिन नसक्दा नेपालको मध्यक्रम कमजोर देखिएको छ । मध्यक्रमका ब्याट्सम्यानले दबाब झेल्न नसक्दा स्कोर बोर्डमा रन चढाउन सकेका छैनन् ।