एस फुटको संघारमा रहँदा एमालेमै फर्कन ओलीले गरे आह्वान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर विभिन्न दलमा रहेकालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा नेकपा एकीकृत समाजवादी नेकपा माओवादीसँग एकता गर्ने तयारीका साथ जुटिरहेका बेला ओलीले दु:खले तयार पारेको एमालेलाई थप समृद्ध बनाउन जुट्नुपर्ने बताए ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो घर फर्कन आह्वान गरेका हुन् । उनले लेखेका छन्, ‘निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो।’

ओलीले भनेका छन्, ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन । यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।’

उनले सबै एकै दिशामा अघि बढ्नुपर्ने आह्वान गर्दै भनेका छन्, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’

विगतमा एमाले बनाउन र एमालेलाई बलियो बनाउन सँगै यात्रामा रहेका सबैलाई उनले एमालेमा फर्कन आह्वान पनि गरेका छन् । ओलीले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु ।’

ओलीले आह्वान गर्दै लयात्मक रुपमा लेखेका छन्,

 ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।

यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।

फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं ।

देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।

हामी एउटै परिवार हौं ।

हाम्रो लक्ष्य स्पष्ट छ ।

समृद्ध नेपाल, सुखी नेपाली।

म सबैमा आह्वान गर्न चाहन्छु ।

कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा ।

हाम्रो साझा सपना साकार पार्न ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’