कपिलवस्तु प्रहरीले बाणगंगाबाट अवैध रूपमा लुकाइराखिएको अनुदानको १७९ बोरा डिएपी मल बरामद गरेको छ। प्रहरीका अनुसार शुक्रबार बिहान बाणगंगा नगरपालिका–१० मेचखुरीस्थित स्थानीय सुलेमानको गोदाममा छापा मारेर मल बरामद गरिएको हो।
सुराकीका आधारमा जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा इलाका प्रहरी कार्यालय पिपराले छापा मारेको हो। एसपी आचार्यका अनुसार बरामद मलका कुनै कागजात फेला नपरेको र त्यसलाई राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउने विषयमा छलफल भइरहेको छ।
प्रहरीले बरामद गरेको मल सरकारी अनुदानको रूपमा वितरणका लागि ल्याइएको हुनसक्ने बताएको छ। तर यस्तो मल किसानलाई वितरण गर्ने सहकारी वा निकायले बढी मूल्यमा व्यापारीलाई बेच्ने गरेको किसानहरूको आरोप छ।
यसअघि बिहीबार मात्र सशस्त्र प्रहरीले शुद्धोधन गाउँपालिका–१ अनहराटस्थित एक घरबाट पनि १२४ बोरा डिएपी मल बरामद गरेको थियो।