भारतमा २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नविकरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल विद्युत प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नविकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजना मार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिँदै भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर सँग भेटवार्ता गरेका थिए।  भेटका क्रममा मन्त्री घिसिङले नेपालमा हाल विद्युत उत्पादन उच्च अवस्थामा रहेको बताउँदै, निर्यात अनुमति नविकरण प्रक्रियालाई छिटो र सहज बनाइदिन आग्रह गरेका थिए।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपतपछि बाँकी रहेको अतिरिक्त विद्युत भारतको ऊर्जा एक्सचेन्ज मार्फत प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्दै आएको छ। यसबाहेक प्राधिकरणले भारतका हरियाणा र बिहार राज्यलाई द्विपक्षीय सम्झौता अनुसार पनि विद्युत बिक्री गर्दै आएको छ। भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा समेत नेपालबाट विद्युत पुगेको छ।

यसपटक भारतीय ऊर्जा एक्सचेन्जमा प्रतिस्पर्धात्मक मूल्यमा विद्युत बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको अनुमति नविकरण गरिएको हो। यी आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत बिक्री अनुमति सकिएपछि, अब करिब एक वर्षका लागि पुनः नविकरण भएको छ, जसको प्रभाव गत मंगलबारदेखि लागू भएको छ।त्यस्तै, हरियाणा राज्यसँगको द्विपक्षीय सम्झौताअनुसार करिब १८० मेगावाट विद्युत बिक्रीको अनुमति आज (बिहीबार) सकिँदै थियो। प्राधिकरणले हरेक वर्ष जुनदेखि अक्टोबर महिनासम्म हरियाणालाई विद्युत बिक्री गर्दै आएको छ। यसपालि पनि ती आयोजनाबाट उत्पादित विद्युत भारतीय ऊर्जा एक्सचेन्जमार्फत निरन्तर बिक्री गर्न स्वीकृति पाएको छ।