खराब ब्याटिङ सामना गरिरहेको नेपाल आइसिसी विश्वकप लिग–२ मा एकपछि अर्को हारका कारण संकटमा परेको छ।
लिग–२ अन्तर्गत जारी त्रिदेशीय शृंखलामा बिहीबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेटले नतिजा सुम्पिन पुग्यो। कप्तान रोहितकुमार पौडेलको शतक बाबजुद नेपालले सामान्य लक्ष्य दियो र सहजै नतिजा पनि गुमायो। आठ राष्ट्र सम्मिलित लिग–२ मा नेपालको यो ११औं हार हो। युएई लिगको कमजोर र पुछारको टोली हो।
यो खेल अगाडिसम्म युएईले १७ खेलमा तीन जित मात्र जितेको थियो। तर, सोही कमजोर टोलीका रूपमा हेरिएको युएई नेपालमाथि पूर्ण हाबी भयो। लगातार खराब प्रदर्शनका कारण नेपालमाथि एकदिवसीय मान्यता जोगाउने र विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउने लक्ष्यमा दबाब थपिएको छ।
लिग–२ मा ३६ खेलपछि शीर्ष चार टोलीले आइसिसी विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउँछन्। अब लिग–२ मा नेपालले १८ खेल खेल्न बाँकी छ। गत साइकलमा सनसनीपूर्ण विश्वकप छनोटसम्म यात्रा तय गरेको नेपालको १२ अंक छ। जुन, शीर्ष चारका टोलीको भन्दा नेपाल आधाको स्थितिमा हो। पाँचौं र छैटौं स्थानका टोलीसँग पनि अंकदूरी बढ्नुले नेपालमाथि दबाब थपिएको छ।
अमेरिकासहित तीन राष्ट्र सम्मिलित शृंखलामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा पनि ब्याटिङ चल्न नसक्दा नेपालले शीर्ष स्थानको अमेरिकासँग १ सय ६ रनको फराकिलो हार सामना गर्नुपरेको थियो। लिग–२ मा कमजोर प्रदर्शन गरेको युएईसँग पनि खराब ब्याटिङ गरेपछि नेपाल नतिजा सुम्पिन बाध्य भयो। यसले नेपालमाथि दबाब बढाएको छ।
आइसिसी विश्वकप–२ (२०२४/०२६) को साइकलमा नेपालले आधा चरण पार गरिसकेको छ तर कुनै नेपाली ब्याटर सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष १९ भित्र पनि पर्न सकेका छैनन्। नेपालबाट सर्वाधिक रन बटुल्ने ब्याटर आरिफ सेख हुन्। उनले १३ खेलबाट चार सय ३१ रन बटुलेका छन्। अन्य नेपाली ब्याटर धेरै पछाडि छन्।
नेपाली ब्याटरले धैर्यपूर्वक क्रिजमा खेल्न नसक्दा त्यसको असर टोलीको नतिजामा पनि परेको छ। लगातार दोस्रोपल्ट विश्वकप क्वालिफायर खेल्ने नेपालको लक्ष्यमा दबाब बढ्दै गएको छ। कमजोर मानिएको युएईसँग पनि नेपालको ब्याटिङ चल्न सकेन। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले राम्रो सुरुआत दिलाउन सकिरहेका छैनन्।
कुशल झन् खराब लयबाट गुज्रिरहेका छन्। एकदिवसीयमा उनको पछिल्ला ११ खेलको आँकडाले पनि त्यसमा स्पष्ट पार्छ। कुशलले गत जुनमा स्कटल्यान्डविरुद्ध ५३ रन बनाएका थिए। बाँकी १० खेलमा भने उनी सस्तैमा पभेलियन फर्किएका छन्।
अर्का ओपनर आसिफ र एकदिवसीय क्रिकेटमा आशा गरिएका ब्याटर भीम सार्कीको प्रदर्शन पनि सुखद छैन। शीर्ष तीनका ब्याटरले क्रिजमा समय दिन नसक्दा ब्याटिङमा नेपालले संघर्ष गर्नु परिरहेको छ। युएईविरुद्धको खेलमा त्यही समस्या दोहोरिन पुग्यो। ओपनर कुशल ७ र भीम ३ रनमै आउट भए। अमेरिकाविरुद्ध पनि उनी खाता नखोल्दै आउट भएका थिए।
अर्का ओपनर आसिफ पनि ३५ रनमै आउट भएपछि नेपालले सुरुदेखि दबाब सामना ग¥यो। चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले शतक बनाउँदै इनिङ उकासे तर उनले राम्रो साथ पाउन सकेन। त्यसपछि आरिफ सेख २७ रन र दीपेन्द्र सिंह ऐरी २३ रन बनाए। पुछारका ब्याटर करणले १३ रन जोडे। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र नेपालले दुई सय ३४ रनको सामान्य लक्ष्य दियो।
नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेन। घरेलु टोलीका ओपनर अलिसान सरफु र आर्यन्स शर्माले पावर प्लेमा नै आक्रामक ब्याटिङ गर्दै नेपालमाथि पूर्ण दबाब बनाए। पावर प्लेमा युएले ६३ रन जोड्दा एक विकेट गुमायो। अलिसान ४५ रनमा आउट भए।
आर्यन्स शतकबाट दुई रनले चुके। उनले ९८ बलमा ९८ रन जोडे। ३५औं ओभरमा उनी आउट हुँदा युएई (१९५/४) जितनजिक नै थियो । त्यसपछि आएका ब्याटरले साथ दिए र युएईले ३९ बलअगावै जित सुरक्षित गर्यो। आर्यन्सले १० चौका र तीन छक्का प्रहार गरे।
मोहम्मद वासिमले २६, कप्तान राहुल चोपारा (रिटायर्ड हर्ट) १५, हर्षीत कौशिकले १३ रनमा आउट भए। ध्रुव पराशर १६ रनमा र जाहिद अली ११ रनमा अविजित रहे। आर्यन्सले चौथो विकेटका लागि मोहम्मदसँग ७६ र तेस्रो विकेटका लागि राहुलसँग ५६ रनको साझेदारी गरेका थिए। आर्यन्स म्यान अफ दी म्याच पनि भए । नेपालले सात बलर प्रयोग गर्यो तर लक्ष्य रक्षा गर्न सकेन।
सन्दीप लामिछानेले दुई तथा करण र दीपेन्द्रले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भयो। कप्तान रोहितले १३० बलमा एक सय ९ रन बनाए। उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
रोहितले चौथो विकेटका लागि आरिफसँग ७६ र पाँचौं विकेटका लागि दीपेन्द्रसँग ५४ रनको साझेदारी गरे तर रोहितको शतक बाबजुद नेपालका लागि त्यो योगफल पर्याप्त भएन। युएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक विकेट लिए। हारसँगै १८ खेलबाट १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ। युएई समान खेलबाट आठ अंकका साथ पुछारमा छ।