त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट गोल गरिन्।
डिफेन्डर विमला विकेको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरिन्। नेपालकी गोल मसिन साम्बाको यो ६५ औं अन्तर्राष्ट्रिय गोल हो। नेपालले १-० को अग्रता बनायो।
खेलको १४ औं मिनेटमा भारतको प्रयासमा गोलकिपर अन्जना राना मगर बाधक बनिन्। रत्नबालाले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारलाई अन्जनाले पन्च गरेर बचाइन्। ४३ औं मिनेटमा साम्बाले पाएको मेकामा गोलकिपर बाधक बनिन्। पहिलो हाफ १-० को नतिजामस सकियो।
भारतविरुद्ध जारी खेलका लागि आज प्रशिक्षक नविन न्यौपानेले टोलीमा ३ परिवर्तन गरे। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिरा कुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाए।
इरान लगातारको दोस्रो जितमा च्याम्पियन बनिसकेको छ। इरानले नेपाललाई ३-० ले र भारतलाई २-० ले हराएको थियो।