सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि संयुक्तराज्य अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेका अतिवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेन महिलाको भेषमा तोराबोरा पहाडबाट भागेको अमेरिकाले जानकारी दिएको छ । एक महत्वपूर्ण खुलासामा पूर्वसिआइए अधिकारी जोन किरियाकोउले यस्तो जानकारी दिएकी हुन् । एएनआईसँगको एक विशेष अन्तर्वार्तामा १५ वर्षसम्म सिआइएमा रहेकी र पाकिस्तानमा सिआइए आतंकवादविरोधी अपरेसनकी प्रमुखसमेत रहेकी किरियाकोउका अनुसार सेन्ट्रल कमान्डका कमान्डरका लागि अनुवादक वास्तवमा ‘अमेरिकीसेनामा घुसपैठ गर्ने अल–कायदा अपरेटिभ’ थिए ।
‘हामीलाई थाहा थियो कि हामीले बिनलादेनलाई घेरेका थियौँ । हामीले अनुवादकमार्फत उनलाई पहाडबाट तल आउन भन्यौँ । र, उनले बिहानसम्मको समय मागे । अन्ततः के भयो भने, बिनलादेन महिलाको पोसाकमा थिए र उनी पिकअप ट्रकको पछाडि अँध्यारोको आडमा पाकिस्तानतर्फ भागे,’ उनले थपे । पछि अमेरिकाले मे २०११ मा उत्तरी पाकिस्तानको एबोटाबाद सहरमा ओसामा बिनलादेनलाई पत्ता लगाएको थियो । मे २ मा संयुक्तराज्य अमेरिकाको विशेष बलले उनको सुरक्षित घरमा छापा मार्दा ओसामा मारिएका थिए । त्यतिवेला पाकिस्तानसँग अमेरिकाको सम्बन्ध राम्रो भएको र तत्कालीन राष्ट्रपति तथा सेनाप्रमुख परबेज मुसर्रफले अमेरिकालाई सहयोग गरेको पनि उनले बताएकी छिन् ।
‘पाकिस्तानी सरकारसँग हाम्रो सम्बन्ध धेरै राम्रो थियो । त्यतिवेला जनरल परबेज मुसर्रफ थिए । यहाँ इमानदार बनौँ । संयुक्तराज्य अमेरिकालाई तानाशाहहरूसँग काम गर्न मन पर्छ । त्यसैले, हामीले मूलतः मुसर्रफलाई किन्यौँ । हामीले लाखौँ डलर सहायता दियौँ, चाहे त्यो सैन्य सहायता होस् वा आर्थिक विकास सहायता । र हामीले मुसर्रफसँग नियमित रूपमा भेट्थ्यौँ, हप्तामा धेरैपटक । र मूलतः उहाँले हामीलाई जे गर्न चाहनुहुन्थ्यो त्यो गर्न दिनुहुन्थ्यो । तर, मुसर्रफसँग पनि आफ्नै मानिस थिए जससँग उहाँले डिल गर्नु आवश्यक थियो,’ उनले भनिन् ।