माइतीघरमा जेन-जीको खबरदारी : सरकारले विभाजन गरेको आरोप

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

‘जेन-जी’ युवाहरूले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन्।

‘जेन-जी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरूले देशभरको जेन-जीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए।

उनीहरूले सरकार जेन-जी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेन-जी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले जेन-जी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेन-जी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राखे।

जेन-जी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरूको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेन-जी एक हुनुपर्ने आवश्यकता औँल्याए। ‘जेन-जी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ,’ उनले भने, ‘जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेन-जी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन।’

कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए।

जेन-जी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरूको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ। जेन-जी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेन-जी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूहरूको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताए। रासस