जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा मंगलबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय बिन्दराम विकको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा अन्य सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएका छन्। घरमा पालिएका चारवटा बाख्रा र दुईवटा खरायोको पनि जलेर मृत्यु भएको छ।
पीडित बिन्दराम विकले जीवनभरको कमाइ क्षणभरमै खरानी भएको भन्दै दुःख व्यक्त गरे। ‘सबै सपना सँगै जले, अब बाँकी छ केवल खरानी र सम्झना,’ उनले आँसु पुछ्दै भने, ‘आगोले हाम्रो सारा जिन्दगी लुट्यो।’
बिहान करिब ४:५० बजे घरबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए। पछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब चार घण्टापछि बिहान ८:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीपछि विकको परिवार घरविहीन भएको छ र हाल छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ। लत्ताकपडा र अन्नपात सबै जलेकाले उनीहरूलाई तत्काल राहतको आवश्यकता देखिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय जुम्लाले विद्युत् सर्टका घटनाबाट बच्न सबैलाई सचेत रहन आग्रह गरेको छ।