हेटौँडा उपमहानगरपालिका वडा नम्बर- १६, हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। प्राधिकरणले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् प्रयोग गरेर प्रिमियम महसुल नतिरेका कारण उद्योगको लाइन काटिएको जनाएको छ।
शिवम् सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी राखेकाले लाइन काटिएको प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले जानकारी दिए। उनका अनुसार प्राधिकरणले बक्यौता रकम भुक्तानीको लागि पटक–पटक पत्राचार गरे पनि उद्योगले समयमा तिर्ने पहल नगरेकाले बाध्य भएर लाइन काटिएको हो।
विद्युत् आपूर्ति रोकिएसँगै उद्योगमा उत्पादन कार्य पूर्ण रूपमा रोकिएको छ। प्राधिकरणले भने तिहारको सार्वजनिक बिदामा समेत उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको जनाएको छ।