चुनावमा जान सबै दल तयार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सबै राजनीतिक दलहरुले चुनावमा  जान तयार रहेको संकेत गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख दलका नेताहरुले चुनावमा जान तयार रहेको तथा शान्ति सुरक्षाको अवस्थामा चुनौतीपूर्ण रहेको बताएका छन् ।

ठूलो संख्यामा कैदी र हतियार बाहिर रहेकाले चुनावमा जान समस्या भएको उनीहरुको भनाई थियो ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले   समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताइन्।

उनले भनिन्,‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन। राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार छलफलमा सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेका छन्। ‘ चासोहरू व्यक्त भएका छन्। मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ। प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ,’ उनले भने।

चुनावका लागि सरकारले राजनीतिक दलहरुसँग गरेको यो पहिलो छलफल हो।