काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा २ जना युवकलाई नियन्त्रणमा लिएको छ।
असोज ३० गते बागमती प्रदेश ०२-०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल लगाई लापरबाहीपूर्वक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-२ बस्ने २४ वर्षीय सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको उक्त मोटरसाइकलको ह्यान्डिल परिवर्तन गर्ने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरभित्र मोटरसाइकलचालक श्रेष्ठले भारतको सीतामढी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीय अफताब अन्सारीसमेतलाई प्रयोग गरी सामाजिक सञ्जालमा नकारात्मक असर पर्ने किसिमका श्रव्यदृश्य गतिविधि टिकटक आइडी SS_VLOGS (@ssvlognp10) मार्फत पोस्ट गरेका थिए।
सोही कारणले दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कात्तिक ३ गते दिउँसो साढे ३ बजे श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका-२, तीर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट एक थान सामसुङ ग्यालेक्सी ए१४ ५जी मोबाइल र एक थान गोप्रो हिरो ०९ ब्ल्याक क्यामेरा बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।