जिल्ला प्रहरी कार्यालय सल्यानले नाै ग्राम ६५० मिलिग्रामी ब्राउनसुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । छत्रेश्वरी गाउँपालिका- ६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका- २ का २८ वर्षीय संगीत परियारलाई ब्राउनसुगर र दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार छत्रेश्वरी गाउँपालिका- ६ लान्तीमा सवारीसाधन चेकजाँच गर्ने क्रममा वली र परियारको साथबाट लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम केसीले बताए । पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिएको उनकाे भनाइ छ ।
यस्तै, प्रहरीले ४८ किलो रातो च्याउ बरामद गरेको छ । जाजरकोट सुर्खेत सडकखण्डअन्तर्गत सल्यान बनगाड कुपिण्डे नगरपालिका- १ सल्लीबजारबाट ४८ किलो अवैध रातो च्याउ पक्राउ गरिएको प्रहरी प्रमुख डा. केसीले बताए ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको भे.१ज ३९३८ नम्बरको फोर्स गाडीमा चेकजाँच गर्ने क्रममा रातो च्याउ फेला परेको हाे । चालक बर्दिया बारबर्दिया– ८ का ३२ वर्षीय शुक्रराज विक गाडी र च्याउसहित बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।