सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाय फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो ।

जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा राति ८ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए।

डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली डिएसपी बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् ।

धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ । उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ।

डिएसपीका अनुसार ७ किलो चाँदी बरामद सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगे । उनले लैजान नदिने अडान कसे । उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीको भनाइ छ ।

‘हामीले विलविजक खोज्यौं । केही थिएन । हामीले सात किलो चाँदी बरामद गरेर लग्न सुनचाँदी व्यवसायी संघको नेतृत्वलाई बोलायौं । मुचुल्का हुने कुरा हुँदै थियो’, डिएसपी बमले भने, ‘तर सुरेन्द्र भण्डारी आएपछि उच्सृंखल शैलीमा पुलिसलाई खेदौं भनेर आक्रमक भएर हातपात गर्न थाल्नुभयो । त्यसपछि अलिकति झडप भयो ।’

यता उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको आक्रोश पोखे । उनका अनुसार पहिला कालीगढकै काम गर्ने संजय ठाकुरले भर्खरै नयाँ ज्वेलर्स खोलेका छन् । त्यहाँ अरुले दिएको सुनचाँदीको पनि उनले गहना बनाउने गर्छन् । पसलमा सुरुमा एकजना प्रहरी सिविल पोसाकमा पायल बनाउने बहानाले आए । यसरी पाँचजना प्रहरी सिभिलमै पुगेपछि सबै चाँदी दिन भने । यसरी चाँदी प्रहरीले लग्न खोजेपछि अवस्था विग्रिएको महासचिव पण्डितको भनाइ छ ।