ललितपुरबाट सशस्त्र प्रहरीले ५० के.जी. भन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
विगत केही वर्षदेखि चाँदीका गरगहना कारोवार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षिय अभिषेख शेख ललितपुर महानगरपालिका–१६ धौगलबाट बिहीबार पक्राउ परेका हुन्।
उनले भारतबाट अवैध रुपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
उनको साथबाट सशस्त्र प्रहरी करीव ५० के.जी. ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन एउटा बरामद गरेको छ।
बरामद चाँदी, नगद र अन्य सामानसहित उनलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको डिएसपी थापाले बताए।