ओली नेतृत्वकाे सरकारले नियुक्त गरेका चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो । उहाँले फिर्ता बोलाइएको आवासीय राजदूतहरुले अगामी कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो,-‘चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरुको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ।’

सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन । मन्त्री खरेलले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले नेपाल–भारतबीच विद्युत व्यापारलाई बढावा दिनका लागि दुई वटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रशारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय गरेको पनि बताउनुभएकाे छ।

मन्त्री खरेलले पूर्वी नेपालको इनरुवा-पूर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४ सय केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको समेत बताउनुभयो ।