सामाजिक अभियन्ता ‘ई’ (इः) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ।
अभियन्ता ‘ई’ ले मेयर शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै एक पोस्ट गरेपछि मेयर शाहले त्यसको जवाफ फर्काएका हुन्।
अभियान्ता ‘ई’ ले मध्यरातमा फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेन शाह, केपी ओली र दुर्गा प्रसाईंको कार्यशैली र राजनीतिक व्यवहारमा धेरै अन्तर नभएको टिप्पणी गरेका थिए।
उनले लेखेका थिए, ‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु – केपी, बालेन, दूर्गा जस्ता पात्रहरू बीच फेस भ्याल्यूमा बैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुनसक्छन्।’
उनले यस्ता पात्रहरूभन्दा विकसित र गतिशील नेतृत्वको लागि समाजमा गम्भीर आत्मसमीक्षा जरुरी रहेको बताएका थिए।
‘ई’ को उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले पुराना नेताहरू पदमा बसिरहेको अवस्थामा आफूले नयाँ पुस्तालाई अगाडि आउन आग्रह गरिरहेको बताए।
मेयर शाहले लेखेका छन्, ‘८० बर्ष पुग्दा पनि आफु प्रधानमन्त्री बन्ने, आफु अध्यक्ष बन्ने देशमा मैले ३५ बर्षकै उमेरमा तपाईंहरु आउनुस, देश चलाउनुस भनिरको छु त, ई सर ! सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस, तपाईंहरु पनि लिडर बन्नुस ! म तपाईंलाई प्रधानमन्त्री , पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस ! म कार्यकर्ता बन्न तयार छु !’
बालेनले थप भने ‘देश मलाई नै छोड्ने हो भने त, म, बिना एक जना मन्त्री एक्लै देश बनाईदिन सक्छु, तर यस्तो कुराले म बन्छु, देश बन्दैन !’