पर्यटनको राजधानी पोखराबाट , पर्यटकीय पदमार्ग घोडेपानीको यात्रा अब तीन घण्टा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पर्यटनको राजधानी सहर पोखराबाट अर्को पर्यटकीय पदमार्ग घोडेपानीसम्मको यात्रा अब तीन घण्टामा सीमित भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ स्थित नयाँपुल, वीरेठाँटी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी, शिख, घार हुँदै पालिकाको केन्द्र पोखरेबगर जोड्ने सडकमार्ग संचालनमा आएसँगै यो दुरी तीन घण्टामा छोट्टिएको हो।

निर्माण सम्पन्न सडकको कास्की अन्नपूर्णका अध्यक्ष विष्णुबहादुर केसी र म्याग्दी अन्नपूर्णका अध्यक्ष भरत पुनले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा दुवै पालिकाका उपाध्यक्षहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पर्यटन व्यवसायीलगायत सरोकारवालाहरुको सहभागिता थियो। पालिकासँगै स्थानीय व्यवसायी र बासिन्दाको संयुक्त पहलमा सडक  निर्माण सम्पन्न भएको हो। घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा करिब दुई किलोमिटर ट्रयाक निर्माण गरेपछि दुई जिल्ला सडक सञ्जालले जोडिएका हुन्।

यसअघि पोखरेबगरबाट तल्लो घोडेपानी र कास्कीको नयाँपुुलबाट उल्लेरी हुँदै वनठाँटी–भालओरालसम्म सडक निर्माण भइसकेको थियो। यसलाई विस्तार गरी खोलिएको नयाँ सडकले कास्कीको अन्नपूर्ण ७, ८ र ९ सँगै म्याग्दीको अन्नपूर्ण ५ र ६ नम्बर वडाका बासिन्दाहरुसमेत प्रत्यक्ष लाभान्वित भएका छन्। नयाँपुुल, कुुश्मा, बेनी हुँदै पोखरेबगर जोड्ने सडकभन्दा यो सडक करिब ४० किलोमिटर छोटो छ।

यसअघि नयाँ पुुल हुँदै उल्लेरीसम्मको कच्ची सडकमा बस र नागीठाँटीसम्म जिप तथा बोलेरो सञ्चालन हुँदै आएको थियो भने घोडेपानीबाट नयाँपुल पुग्न ६ घण्टा लाग्ने गरेको थियो।

पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडक
संचालनमा आएको यो सडकलाई धार्मिक सडकको रुपमा समेत लिइएको छ। नयाँपुल, वीरेठाँटी, घोडेपानी हुँदै पोखरेबगर, तातोपानी–मुक्तिनाथ मन्दिर जाने ‘मुक्ति मार्ग’को नयाँ सडक खण्डमा जोडिएकाले यसलाई धार्मिक सडकसँगै पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडकको रुपमा समेत हेरिएको छ।

कार्यक्रममा अध्यक्ष केसीले निर्माण गरिएको सडकले अन्नपूर्ण क्षेत्रको पर्यटन, व्यापारसँगै धार्मिक पर्यटक प्रवद्र्धन र उनीहरुको यात्रामा सहजता ल्याएको बताए। यसले पोखरा–घोडेपानी आउने जानेहरुका लागि सहज सँगै समय छोट्याएकाले यस क्षेत्रमा समग्र विकासका लागि नयाँ ढोका खेलेको बताए। अध्यक्ष केसीले बर्खाको समयमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था आफूहरुले मिलाएको बताए। नयाँ पुुल हुुँदै वीरेठाँटी खण्ड कालोपत्रे गरिएको र चालु आर्थिक वर्षमा वीरेठाँटीदेखि उल्लेरी खण्ड स्तरोन्नतिका लागि दुई शीर्षकमा गरी चार करोड ५० लाख विनियोजन गरिएको तथा भुरुङ्दी खोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भएको जानकारी दिए।

अर्का अध्यक्ष पुनले नयाँपुुल, कुुश्मा, बेनी हुँदै पोखरेबगर जोड्ने सडकभन्दा  हाल निर्माण गरिएको सडक करिब ४० किलोमिटर छोटो रहेको बताए। पर्यटकीय हिसाबले महत्वपूूर्ण रहेको यो सडक स्थानीय सँगै घोडेपानीको भ्रमण गर्ने पर्यटकहरुका लागि सहज छ। कास्कीको नयाँपुलबाट म्याग्दीको बेनी हुँदै पोखरेबगर पुग्ने सडक खण्डको मुुख्य राजमार्गमा अवरोध हुँदा यो सडकले त्यसको विकल्पका रुपमा कामसमेत गर्ने पुनले बताए।