काठमाडौंको कोटेश्वर-तीनकुने अब ‘जेनजी चोक’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौंको कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेनजी चोक घोषणा गरिएको छ। जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले आइतबार चोकमा सार्वजनिक कार्यक्रम गरी चोकको नाम जेनजी चोक घोषणा गरेका हुन्।

रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी भन्ने नाराका साथ चोक घोषणा गरिएको हो। घोषणासँंगै चोकमा एउटा साइनबोर्ड पनि ठड्याइएको छ। साइनबोर्ड तीनकुने जस्तै त्रिकोणात्मक आकारमा छ। त्यसमा सवैभन्दा माथि नेपालको झण्डा राखिएको छ। त्यसको मुनि जेनजी चोक (तीनकुने) लेखिएको छ । त्यसको मुनि जेनजी आन्दोलनको क्रममा घाइते आन्दोनकारीको रगताम्य जुता (जुन आन्दोलनको क्रममा भाइरल भएको थियो) को फोटो रहेको छ। त्यसको मुनि रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी लेखिएको छ । त्यसको मुनि भने सानो साइजमा जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) भनेर लेखिएको छ ।

साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ। साइनबोर्ड भने राखिएको छैन। कार्यक्रमस्थलमा नेपाल प्रहरी आएर त्यो बोर्ड र प्रवक्ता अविन लिम्बूलाई पक्राउ गरी लेगेको छ।

जेनजी आन्दोलनबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै उनीहरुको मागलाई निरन्तर सम्झाइराख्न सम्झनास्वरुप जेन्जी चोक घोषणा गरेको कार्यक्रममा बताइयो। जेनजीहरुको मागहरुलाई निरन्तर झक्झकाइरहन सकोस् सवैले भनेर हामीले यो घोषणा गरेका हौं, कार्यक्रममा आयोजकहरुले भने। दर्जनौं शहीद जेन्जीहरुको माग पूरा गराउनु नै चोक घोषणाको मुख्य कारण रहेको उनीहरुको भनाई थियो। शहीदहरुको रगतको मूल्य चुकाउन उनीहरुले राखेको मागहरुलाई पूरा गराउनु हामी सवैको कर्तव्य भएको पनि उनीहरुले बताए।

जेनजी २.० (सवै पुस्ताको प्रतिनिधि) धेरै जेनजी समूहहरुमध्ये एउटा जेनजी समूह हो । यसका विभिन्न जेनजी युवाहरु समावेश छन् । यो समूहले पनि जेनजीहरुको मागलाई पूरा गराउन आफनै हिसावले कार्यक्रमहरु चलाइरहेको छ ।

जेन्जी चोक घोषणाको क्रममा जेनजी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जलिस्वरुप दीप प्रज्ज्वल पनि गरिएको थियो । जेन्जीका शहीद परिवार, घाइते सदस्य, जेनजी नेताहरु र अभियन्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको क्रममा राष्टिय समिति पनि घोषणा गरिएको थियो । जेनजी २.० (सवै पुस्ताको प्रतिनिधि)को आधिकारिक कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ ।