बालेनले भने- ४५ वर्षको हुनुभयो ?आउनुहोस् महानगरको विकासमा हातेमालो गरौं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सेवानिवृत्त व्यक्तिहरूको ज्ञान, सीप र अनुभवलाई महानगरको विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर’ कार्यक्रमको घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै प्रमुख साहले ४५ वर्ष पूरा भई जागिर वा व्यवसायबाट अवकाश लिएका इच्छुक व्यक्तिहरूलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका हुन्।

‘तपाईं ४५ वर्ष पूरा हुनुभयो ? जागिर वा व्यवसायबाट अवकाश हुनुभयो ? अवकाश पश्चात बिश्राम भन्दा पनि समाजको लागि केहि योगदान गर्ने सोच सहित आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौं,’ प्रमुख साहले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

कार्यक्रमले अवकाश प्राप्त व्यक्तिहरूको अनुभवलाई सदुपयोग गर्दै देश निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। ‘तपाईंको अनुभवलाई उपयोग गर्दै देश निर्माणमा एउटा इट्टा थप गर्ने अवसर सहित सिल्भर भोलिन्टियर कार्यक्रम ल्याएका छौं,’ उनले उल्लेख गरेका छन्।

कार्यक्रममा सहभागी हुन चाहने अवकाश प्राप्त व्यक्तिहरूले आफ्नो ज्ञान, सीप र सोचलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षण लगायतका विविध क्षेत्रमा महानगरसँग सहकार्य गरी लगाउन सक्नेछन्।

इच्छुक व्यक्तिहरूले उपलब्ध गराइएको अनलाइन लिङ्कमार्फत आवेदन दिन सक्नेछन्। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि शहरी योजना आयोगको सचिवालयमा विवेक बास्तोलालाई सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।