कराँते खेलाडी एरिका सम्मानित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ।

संघले आइतबार भृकुटीमन्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार ५५५ रूपैयाँसहित सम्मान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्।

एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिज ‘ए’मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

कार्यक्रममा संघले नेपाली राष्ट्रिय कराँते टोलीका प्रशिक्षक एवम् १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको छ।

एरिका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन्। उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन्। उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन्।

सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन्। कराँते वान सिरिज ‘ए’मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन्।