आयोजक भारतले दिल्लीमा चलिरहेको दोस्रो टेस्टमा पनि वेस्ट इन्डिजविरुद्ध सानदार सुरुवात गरेको छ । भारतले कमजोर देखिएको वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्ट पनि सहजै जित्ने संकेत गरेको छ । दोस्रो दिन वेस्ट इन्डिजले ब्याटिङ सुरु गरेको छ । यद्यपि, टोलीको प्रदर्शन निकै कमजोर रहयो । लगातार विकेट गुमाएको छ ।
दोस्रो दिनको खेल सकिँदा भारत तीन सय ७८ रनले अगाडि छ । भारतले शनिबार टी–ब्रेकसँगै पाँच विकेट गुमाएर पाँच सय १८ रन बनाउँदै इनिङ्स समाप्ति घोषणा गरेको थियो । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले चार विकेट गुमाएको छ । मात्र एक सय ४० रन बनाएको छ । साई होप ३१ तथा टेबिन इमलाक १४ रन बनाएर खेलिरहेका छन् ।
भारतीय स्पिनर रवीन्द्र जडेजाले कप्तान रोस्टन चेजलाई शून्य, तेगनारायण चन्द्रपालले ३४ रन, जन कैम्पवेलले १० रन बनाएर आउट भए । ४१ रन बनाएका एलिक एथनाजलाई कुलदीप यादवले पेभिलियन फर्काएका थिए । यसअघि भारतले दोस्रो दिनको खेल तीन सय १८ रनबाट सुरु गरेको थियो । यो समयसम्म मात्र चार विकेट गुमाएको थियो । यसश्वी जैसवाल एक सय ७५ रन बनाएर रनआउट भएका थिए ।
जैसवालले २२ चौका प्रहार गरेका थिए । कप्तान शुभमन गिल एक सय २९ रन बनाउन सफल भएका हुन् । उनले करिअरको १०औँ शतक बनाउँदा १६ चौका र दुई छक्का हिर्काएका थिए । साई सुदर्शनले १२ चौकासहित ८७ रन बनाएका हुन् । पछिल्लो खेलमा शतक बनाएका ध्रुव जुरेलले ४४ तथा नितिशकुमार रेड्डीले ४३ रन बनाएका थिए । वेस्ट इन्डिजका जोमल वारिकनले सर्वाधिक तीन विकेट झारेका थिए ।
पहिलो टेस्टमा इनिङ्ससहित एक सय ४० रनले जितेको भारत दोस्रो टेस्ट पनि सहजै जित्दै सिरिज २–० ले ‘क्लिन स्विप’ गर्ने योजनामा छ । यो टेस्टपछि भारतले अस्ट्रेलियासँग खेल्दै छ ।